बैतडी –बैतडीमा सदरमुकाम आसपासकै बजारमा म्याद नाघेका सामग्री विक्रि हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन गर्दा सदरमुकाम आसपासकै बजारहरुमा म्याद नाघेका सामग्री फेला परेका हुन् ।
जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ६ सेरा बजारका पसलहरुमा अनुगमन गर्दा १७ हजार बढीको म्याद नाघेको सामग्री बरामद गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए ।
१० ओटा पसलमा अनुगमन गर्दा १७ हजार ८५ रुपैंया बराबरको म्याद नाघेको सामग्री फेला परेको हो । बजार अनुगमनका क्रममा फर्महरु दर्ता नगरी पसल सञ्चालन गरेको पाइएको संयुक्त बजार अनुगमन समितिले जनाएको छ ।
यस्तै पसलमा मूल्य सूची नराखिएको, म्याद नाघेका सामग्रीहरु वर्गीकरण नगरेको लगायतका कैफियतहरु फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । दर्ता नभएका पसलहरुलाई सातदिनभित्र सम्बन्धित निकायमा दर्ता गर्न निर्देशन दिइएको उनले बताए ।
बजार अनुगमनका क्रममा जहिले पनि म्याद नाघेका सामग्री बरामद हुने गरेका छन् । व्यापारी र उपभोक्ता दुवै सचेत नहुँदा बजारमा म्याद नाघेका सामग्री विक्रि वितरण हुने गरेका छन् ।
बजार अनुगमनमा स्थानीय सरकारहरुले ध्यान नदिँदा बजारबाट म्याद नाघेका सामग्री विक्रि वितरण भइरहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा आफ्नो क्षेत्रभित्रका बजार अनुगमन गर्ने दायित्व स्थानीय सरकारको भएपनि त्यसमा पालिकाहरुले ध्यान नदिएको नागरिकको गुनासो छ ।





