Sagun Khabar
बैतडीका विभिन्न ठाउँमा हावाहुरीले क्षति पुर्यायो 

बैतडी– मंगलबार राति आएको हावाहुरीले बैतडीका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । हावाहुरीले स्थानीयहरुका घरमा क्षति पुर्याउनुका साथै विभिन्न ठाउँका विद्यालयको छाना उडाएको छ । 

जिल्लाको पाटन नगरपालिका १० पनालीमा रहेको सिद्धसिगास आधारभूत विद्यालयको भवनमा गएरातिको हावाहुरीले क्षति पुर्याएको विद्यालयले जनाएको छ । हावाहुरीले विद्यालयको दुई कोठाको छानो उडाएर क्षति पुर्याएको प्रधानाध्यापक प्रतापसिंह बिष्टले जानकारी दिए । 

विद्यालय भवनको छानो हावाहुरीले उडाएपछि पठनपाठनमा अवरोध पुगेको प्रधानाध्यापक बिष्टले बताए । 

यस्तै हावाहुरीले पाटन नगरपालिका ८ मा ५ ओटा घरमा क्षति पुगेको छ । हावाहुरीले स्थानीयका घरका छानो उडाएको हो । 

खोडपे बजारमा रहेको धन बहादुर कुवँर, डम्बर सिंह बिष्ट र केशव भट्टले सञ्चालन गर्दै आएको पसलको छानो उडाएर क्षति भएको छ । यस्तै खोड्पे बजारमै रहेको गगनसिंह महराको पसलमा पनि हावाहुरीले क्षति पुर्याएको छ । 

यस्तै पाटन नगरपालिका ८ आरुबाटामा पदमसिंह बिष्टको पसलमा पनि हावाहुरीले क्षति पुर्याएको वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । हावाहुरीले पुर्याएको क्षतिको विवरण संकलन भइरहेको वडा अध्यक्ष बिष्टले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update