बैतडी- बैतडीको क्षेत्र नं १ बाट निर्वाचित प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर पालले घाइते किशोरीको हाल बुझेका छन् । घास काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी जिल्लाको डिलाशैनी गाउँपालिका ७-मनेकुडाकी कुमारी ऐरको स्वास्थ्य अवस्था बुझ्न पाल अस्पताल पुगेका हुन् ।
किशोरीको अहिले धनगढीमा रहेको कैलाली अस्पताल प्रालिमा उपचार भैरहेको छ । भेटमा सांसद पालले उपचारमा सहयोग गर्ने वचन दिएका छन् । कुमारी यहि जेठ ४ गते भीरबाट लडेर घाइते भएकी थिइन् । घाइते ऐरको गोकुलेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो ।
उपचारमा अहिले सम्म दुई लाख सम्म खर्च भैइसकेको आफन्त स्रोतले जनाएको छ । अस्पतालमै पुगेर माननीय पालले दिदीको स्वास्थ्य अवस्था बुझेर आर्थिक सहयोग गर्ने बचन दिएका घाइते किशोरीका भाइ सुरेन्द्र ऐरले बताए । ‘दिदीको अवस्था बुझ्न माननीय पाल अस्पतालमा आएका थिए ,खर्चका लागि चिन्ता नगर्नु, उपचार गराउनुस् म छु भनेका छन्’, उनले भने ।
किशोरीको स्वास्थ्यमा अहिले सुधार हुँदै गएको पनि बताइएको छ । कुमारी बचाऔँ अभियान पनि सञ्चालन गरिएको छ । सो अभियान मार्फत पनि मनकारीहरुले सहयोग गरिरहेका आफन्तहरुले बताए ।





