बैतडी –बैतडीको पञ्ज्यूनयाँमा यतिबेला मकैको हरियाली छाएको छ । जिल्लाका अन्य ठाउँमा मकै छर्ने चटारो चलिरहेका बेला दोगडाकेदार गाउँपालिका ६ स्थित पञ्ज्यूनयाँमा भने मकैबाली हुर्किसकेको छ ।
पञ्ज्यूनयाँका किसानहरुले चैतमा मकै छरेका थिए । मकै भित्र्याएर रोपाँइ गर्ने गरिएको स्थानीय बिरसिंह कार्कीले बताए । बर्षौंदेखि पञ्ज्यूनयाँका किसानहरुले एक बर्षमा तीन बाली भित्र्याउँदै आएका कार्कीले बताए ।
बेँसी क्षेत्र भएकाले पञ्ज्यूनयाँमा एक बर्षमा तीन खेती हुने गरेको स्थानीय हरिश कार्कीले बताए । गहुँ भित्र्याएर मकै खेती गर्ने गरिएको पञ्ज्यूनयाँमा मकै भित्र्याएपछि रोपाँई गर्ने गरिएको उनले बताए । उनले भने ‘हामीले हरेक बर्ष तीन खेती भित्र्याउने गरेका छौं । हिउँदको समयमा गहुँको खेती हुन्छ । बर्षातमा मकै र धानखेती हुन्छ ।’
पञ्ज्यूनयाँमा असार अन्तिम साता मकै भित्र्याएर रोपाँई गर्ने गरिएको छ । अन्न उत्पादनका हिसाबले निकै उर्वरभूमी रहेको पञ्ज्यूनयाँमा बर्षको तीन खेतीबाट किसानहरुले लाभ लिने गरेको स्थानीय मानमती कार्कीले बताइन् ।
पञ्ज्यूनयाँमा सिँचाईको समेत सुविधा रहेकाले किसानहरुले खेतपातीमा सहज हुने गरेको स्थानीय भानबहादुर कार्कीले बताए । जमाडी नदीको पानीले खेतबारीमा सिँचाइ गर्ने गरिएको कार्कीले बताए ।





