बैतडी- बैतडीको महादेव आधारभूत विद्यालयको भवन जीर्ण हुँदा समस्या भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा नं २ अल्कापुरी ठटेमा रहको तीन कोठे भवन जीर्ण हुँदा पठन पाठनमा समस्या भएको हो ।
भवन अभावले शिशु र कक्षा १ का बालबालिकाहरुलाई एउटै कोठामा राखेर पढाउनु पर्ने बाध्यता रहेको प्रधानाध्यापक नवराज भट्टले जानकारी दिए । स्थापना कालमा नै निर्माण भएको पुरानो भवन जीर्ण भएकाले समस्या भएको उनले बताए । सोहि कक्षा कोठामा दिवा खाजा समेत बनाउने गरिएको उनले बताए ।‘ भवन अभावले शिशु र कक्षा १ का बालबालिकाहरुलाइ एउटै कक्षामा बसालेका छौँ, दिवा खाजा समेत सोहि कक्षामा पकाउने गरेकाले समस्या छ,’ उनले भने ।
भवन अभावले पठनपाठन प्रभावित हुने गरेको उनको भनाई छ । पुरानो भवन जिर्ण भएर भत्कीने अवस्थामा पुगेकाले कतिखेर अप्रिय घटना हुन्छ भनेर डर हुने गरेको प्रधानाध्यापक भट्टले बताए । सिलेटले छाएको तीन कोठे जीर्ण भवन पानी परे चुहिने भएकाले झन समस्या हुने गरेको शिक्षकहरुको भनाई छ । ‘स्थापना काल देखिको पुरानो भवन जीर्ण भएर भत्कीने अवस्थामा छ ,चुहिन्छ पनि, अर्काे भवन जस्तापाताले छाएको छ त्यो नि चुहिन्छ, हामीलाइ भवनको सारै अभाव छ, प्रधानाध्यापक भट्टले भने ।
कक्षा ८ सम्म पढाइ हुने महादेव आधारभूत विद्यालयमा ६ वटा मात्रै कोठाहरु भएकाले पठनपाठनमा समस्या हुने गरेको बताइन्छ । पानी परेकाबेला सबै विद्यार्थी एउटै कोठामा बसालेर पढाउने गरिएको र घाम लागेको दिन विद्यार्थी भूइँमा बस्ने गरेको विद्यालय स्रोतले जनाएको छ । महादेव आविको समस्या राज्यका कुनै निकायले नहेरेको विद्यालय परिवारको गुनासो छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा पटक पटक भवनका लागि निवेदन दिए पनि राज्यले नहेरेको गुनासो उनिहरुको छ । पावर पहुँचमा भवन पर्ने गरेकाले महादेव आविका समस्या हल नभएका प्रधानाध्यापक भट्टले गुनासो गरेका छन् । पावर पहुँचका भरमा मात्रै भवन पर्ने गरेका र वास्तविक पीडालाई कसैले नबुझेका उनको भनाई छ ।
तीन तहको सरकारक भएपनि कमिसन र पहुँचमा मात्रै सिमित रहेको नागरिकहरुका गुनासा छन् । जनप्रतिनिधिहरु समेत पीडा बुझने खालका नभैइदिदा धेरै ठाउँमा समस्या समाधान हुन सकेको छैन्न । आवश्यकता र समस्याको आधारमा बजेट विनियोजन गराउन भन्दा निकट र आसेपासेलाई नै पोस्ने प्रवृति जनप्रतिनिधि, सांसद तथा नेताहरुमा भएकाले गाउँठाउँको विकास हुन नसकेको यहाँका युवाहरुको गुनासो छ ।





