बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हरिबहादुर भुजेल हाजिर भएका छन् । गएको एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको नगरपालिकामा उपसचिव भुजेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका हुन् ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले उपसचिव भुजेललाई दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो । दशरथचन्द नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्द अनिवार्य अवकाशमा परेपछि नगरपालिका हाकिम विहिन बनेको थियो ।
बिहीबार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा भुजेल हाजिर भएसंगै नगरपालिकाका सबै कामकाज सुचारु भएका नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए ।
यसअघि कार्यालयमा हाकिम नहुँदा भुक्तानी लगायतका कामहरु रोकिएका थिए । प्रमुख प्रशासकीय अधिकृत आएसंगै योजनाको भुक्तानी, कर्मचारीको तलब भुक्तानी लगायतका कामहरु सुचारु हुने बिष्टले बताए ।





