बैतडी –भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन् । चालु आर्थिक बर्षको डेढ महिनामात्रै बाँकी रहँदा लक्ष्य अनुसारको राजस्व संकलन हुने अवस्था नदेखिएको हो ।
भन्सार कार्यालयले चालु आर्थिक बर्षमा ३८ लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । तर अहिले सम्म २४ लाख मात्रै राजस्व संकलन भएको महाकाली भन्सार कार्यालयका प्रमुख अनिलकुमार झाले बताए ।
सीमा नाकाबाट आयात र निर्यातमा कमी आउँदा लक्ष्य अनुसार राजस्व संकलनमा समस्या भएको उनले बताए । झुलाघाट नाकाबाट अहिले निर्यात भने शून्य रहेको कार्यालय प्रमुख झाले बताए ।
भारतबाट आयात हुने सामग्री पनि हरेक बर्ष घट्दै गएको छ । कोरोना कहरपछि नाकाबाट आयात हुने सामग्री घटेको र यसको प्रत्यक्ष असर राजस्व संकलनमा परेको कार्यालय प्रमुख झाले बताए । झुलाघाट नाकाबाट सामग्री आयातमा निकै कमी आएको उनले बताए ।
झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा यो नाकाबाट व्यापारिक प्रयोजनका लागि ल्याइने सामग्री कम आयात हुन थालेको छ । महाकाली भन्सार कार्यालयमा पछिल्ला बर्षहरुमा राजस्व संकलनमा कमी हुँदै आएको कार्यालय प्रमुख झाले बताए ।





