Sagun Khabar
बैतडी जिप दुर्घटनाका घाइते भन्छन् –‘सिकारु चालकका कारण दुर्घटना भयो’

बैतडी–बैतडीको सिगास गाउँपालिका ३ का राजेन्द्रसिंह धामी आइतबार बिहान ९ बजेतिर जिपमा चढे । आफ्ना ठूलाबुवा रामसिंह धामीको उपचारका लागि डडेल्धुरा लैजान भनेर उनी जिपमा चढेका थिए । जिपमा चढेको १० मिनेटमै जिप दुर्घटनामा परेर रामसिंह धामी सदाका लागि अस्ताए भने राजेन्द्र अहिले उपचार गरिरहेका छन् ।  

जिप सडकको छेउतिर जान थालेपछि राजेन्द्र सहित जिपको पछाडी बसेकाहरुले ब्रेक लगाउनु भनेर हल्ला पनि गरे । तर जिप एकहोरो सडक छेउतिर गईरह्यो । त्यसपछि के भयो आफूलाई थाहा नभएको राजेन्द्रले बताए । उनले भने ‘चालक खगेन्द्रसिंह साउँद नयाँ सिक्दै गरेका चालक हुन् । हामी जिपको पछाडी बसेका थियौं । जिप सडक छेउतिर जाँदा हामीले कोलाहल गर्यौं । त्यसपछि के भयो । थाहा नै भएन् ।’

डडेल्धुरा अस्पतालमा उपचार गराएर डिस्चार्ज भएका राजेन्द्रले भने सिकारु चालककै कारण दुर्घटना भएको बताए । उनले अगाडि थपे ‘जिपमा १७ जना जति थियौं । एक्कासी जिप छेउतिर गएपछि हामी आत्तियौं । दुर्घटना पछि त मलाई होस नै छैन् । म आँफै ३ घण्टा पछि होसमा आएको हुँ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

आइतबार बैतडीको सिगास गाउँपालिका ३ लगन भन्ने स्थानमा भएको जिप दुर्घटनामा तीनजनाको मृत्यु भयो भने १२ जना घाइते भएका छन् । घाइते मध्ये अहिले कोही डडेल्धुरा अस्पतालमा उपचार गराईरहेका छन् भने कोही धनगढी पुगेका छन् । 

जिपमा सवार सिगास ३ कै चक्रसिंह धामी पनि दुर्घटनामा परेर घाइते भएका छन् । उनका श्रीमति बासमती धामी र छोरा नवप्रवेश धामी पनि घाइते छन् । उनका आफन्त १३ बर्षीय लक्ष्मण बोहरा पनि घाइते छन् । उनीहरु अहिले सबै निसर्ग अस्पताल धनगढीमा उपचार गराईरहेका छन् । ‘हामी जिपको अगाडिको भागमा बसेका थियौं । खगेन्द्र साउँदले जिप चलाउँदै थियो । मानसिंह साउँदले उसलाई सिकाउँदै थियो । खगेन्द्र नयाँ सिकारु मान्छे हो । एक्कासी अगाडि ढुंगोमा जिपको टायर लागेपछि जिप असुन्तलित भयो । त्यसपछि के भयो हामीलाई पनि थाहा छैन् ।’उनले भने, ‘सिकारु चालकले जिप कन्ट्रोल गर्न सकेन । सिकाउने मान्छे मानसिंह साउँद सहित तीनजनाको दुखद निधन भयो ।’

जिप दुर्घटना सम्झदा अहिले पनि आङसिरिङ भईरहेको साउँदले बताए । उनले भने ‘एक्कासी जिप अन्कन्ट्रोल हुने बेला हामी सबै आत्तियौं । दुर्घटनापछि के भयो थाहा नै भएन् ।’

जिप चालक खगेन्द्र साउँद र जिप साहु हरिभान साउँद सहोदर दाजुभाई हुन् । उनीहरु दुवै जना अहिले प्रहरी नियन्त्रणमा छन् । जिप चालक खगेन्द्रसंग चालक अनुमति पत्र समेत नरहेको पाइएको छ । 

दुवैजनालाई नियन्त्रणमा लिएर दुर्घटनाका बिषयमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । उनले भने ‘हामीले दुर्घटनाका बिषयमा अनुसन्धान गरिरहेका छौं । घाइतेहरुलाई पनि बुझिरहेका छौं ।’

ग्रामीण कच्ची सडकहरुमा सिकारु चालककै कारण बढी दुर्घटना हुने गरेका छन् । कच्ची सडकमा ट्राफिक नियमको पालना हुँदैन भने कतिपय ठाउँमा सडक समेत जिप चलाउन नमिल्ने खालका रहेका छन् । यस्ता कच्ची सडकहरुका कारण सवारी दुर्घटना बढ्दै गएका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update