Sagun Khabar
भारतले धौलीगङ्गाको बाँध खोलेपछि महाकाली नदी किनारमा सतर्कता

बैतडी –भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेपछि महाकाली नदी किनारमा सतर्कता अपनाइएको छ ।

उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा बाँधको ढोका आज बिहान ५ बजे खोलेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

बाँधका ढोका खोलेपछि महाकाली नदीमा जलस्तर बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र नदी किनारमा आवतजावत नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । भोलि बेलुका ८ बजेसम्म नै सतर्कता अपनाउन भनिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । 

जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले यसअघि नै सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेका थिए । 

भारतीय पक्षले पछिल्लो समयमा जानकारी दिएर बाँधको ढोका खोल्दै आएको छ । यो बर्ष चौथो पटक बाँधको ढोका खोलिएको हो । 
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update