बैतडी–बैतडीको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रको नर्सरीको माटो परीक्षण गरिने भएको छ ।
सुख्खा फलफूल विकास केन्द्र भित्र रहेको नर्सरी र सुर्नया गाउँपालिका–२ स्थित कोटथला नर्सरीको माटो संकलन गरेर परीक्षणका लागि पठाउने तयारी भएको केन्द्रका प्रमुख अर्जुन खड्काले बताए ।
माटोमा नाइट्रोजन, पोटास र फस्फोरसको मात्रा कति छ भनेर पत्ता लगाउन माटो परीक्षणको तयारी भएको हो । यस्तै परीक्षणले माटोको अम्लीयपन र क्षारीयपन पत्ता लाग्ने खड्काले बताए ।
सुख्खा फलफूल विकास केन्द्रको २९ हेक्टर क्षेत्रफलबाटा माटोको नमूना संकलन गरिएको र उक्त नमूनालाई माटो परीक्षण प्रयोगशाला सुन्दरपुर कञ्चनपुरमा पठाइने खड्काले बताए ।
माटो परीक्षणपछि प्राप्त नतिजा अनुसार माटो सुधारका उपाय अपनाइने उनले बताए । सुख्खा फलफूल विकास केन्द्रले विभिन्न प्रजातिका फलफूलका बिरुवा उत्पादन गर्दै आएको छ ।
ओखर, स्याउ, नासपाती, आरु, आरुबखडा, कागजीबदाम, किबी, कटुस लगायतका सुख्खा फलफूलका झण्डै ६२ हजार बिरुवा नर्सरीमा हुर्किरहेका खड्काले बताए । ती विरुवाहरु आउँदो हिउँदे सिजनमा रोप्न लायक हुने उनले बताए ।
यस्तै केन्द्रको नर्सरीमा विभिन्न प्रजातिका फलफूलका झण्डै १२ हजार माओबोट रहेका बताइएको छ ।




