Sagun Khabar
बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण 

बैतडी –बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण गरिएका छन् । विपद्को समयमा सहजै हेलिकोप्टर अवतरण गराउन तथा हेलिकोप्टरबाट उद्धारका लागि हेलिप्याड निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । विपद् बेला आपत्कालीन उद्धारका लागि सहज होस् भनेर हेलिप्याड निर्माण गरिएको उनले बताए । 

मनसुन आपत्कालीन कार्ययोजना,२०८० अन्तर्गत सैनिक र गैरसैनिक गरेर १२ स्थानमा हेलिप्याड स्थापना गरिएका प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

सदरमुकामस्थित हनुमानध्वज गुल्म गढी र टुँडिखेलमा सैनिक हेलिप्याड निर्माण गरिएका छन् । यस्तै पञ्चेश्वर गाउँपालिका–३ कुलाउ, सिगास गाउँपालिका–९ चौखाम, सिगास–७ कै शिवलिङ्ग, पुर्चौडी नगरपालिका–१ हाट, पुर्चौडी–५ कुवाकोट, पुर्चौडी–३ नकाली, पाटन नगरपालिका–४ पाटन, डिलाशैनी गाउँपालिका–३ लेक, सुर्नया गाउँपालिका–२ सिउडे र दोगडाकेदार गाउँपालिका–१ रिममा गैरसैनिक हेलिप्याड निर्माण गरिएका हुन् । 

मनसुनको समयमा बाढी, पहिरो, चट्याङ र अन्य विपद् आइपर्दा आपत्कालीनरूपमा हेलिकोप्टर अवतरण गराउन सहज होस् भनेर हेलिप्याड निर्माण गरिएका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद्को आपतकालिन उद्धार कार्यमा सहज होस भने हेलिप्याड निर्माण गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गरिराख्न सबै स्थानीय तहहरुलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । विपद्बाट घरवारविहीन हुनसक्ने परिवारको उद्धार तथा व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहले आश्रयस्थल तथा खुला क्षेत्रको पहिचान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख गरिएको छ ।

स्थानीय तहमा रहेका विद्यालय, सार्वजनिक जग्गा, सामुदायिक भवन आदिलाई आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी त्यस्ता क्षेत्रको पहिचान गरिएको जनाइएको छ । मनसुनी वर्षालाई ध्यानमा राखेर यसबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्ने, सडक अवरुद्ध भएमा तत्काल खुलाउन मेसिन र औजार तयारी अवस्थामा राख्ने, त्यस्ता मेसिन र औजार सञ्चालन गर्नेको फोन नम्बरसहितको सूची जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले राखेको छ । विपद्को समयमा परिचालन गर्नका लागि तीनवटै सुरक्षा निकायको तालिमप्राप्त जनशक्ति र एम्बुलेन्स पनि तयारी अवस्था रहेको जनाइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update