Sagun Khabar
देहीमाण्डौं स्वास्थ्यचौकी दनपाको उत्कृष्ट स्वास्थ्य संस्था 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका अन्तर्गत रहेका १७ ओटा स्वास्थ्य संस्थाहरुमध्ये देहीमाण्डौं स्वास्थ्यचौकी उत्कृष्ट भएको छ । नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमध्ये देहीमाण्डौं स्वास्थ्यचौकी कार्यसम्पादनका आधारमा उत्कृष्ट ठहर भएको हो । 

स्वास्थ्यचौकीमार्फत खोप कार्यक्रम, पोषण कार्यक्रम, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व कार्यक्रम, समुदायमा आधारित बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम, राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम, सरुवा रोग नियन्त्रण कार्यक्रम, नसर्ने रोग उपचार तथा नियन्त्रण कार्यक्रम, किशोरकिशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवा, पाठेघरको मुखको क्यान्सरको पहिचान तथा रोकथाम कार्यक्रम, किशोरकिशोरी आईरन चक्की बितरण लगायतका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

स्वास्थ्यचौकीले प्रदान गरिरहेको सेवाका आधारमा स्वास्थ्यचौकीलाई नगरपालिकाले उत्कृष्ट ठहर गरेको स्वास्थ्यचौकीकी इञ्चार्ज निर्मला पन्तले बताइन् । 

स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीहरुको अथक प्रयासबाट स्वास्थ्य संस्था उत्कृष्ट भएको बताउँदै स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले आगामी दिनमा स्वास्थ्य सेवामा अझै सुधार हुने बताए । उनले भने ‘स्वास्थ्यचौकीले प्रदान गर्ने सेवाहरुलाई अझै परिष्कृत गरेर लैजानेछौं । यसमा सबैको सहयोग आवश्यक छ ।’

स्वास्थ्यचौकीले अबका दिनमा चौबिसै घण्टा स्वास्थ्य सेवा प्रदान गर्ने तयारी समेत गरिरहेको स्वास्थ्यचौकी इञ्चार्ज पन्तले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update