Sagun Khabar
शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पुर्याउन प्रदेश सरकार प्रतिबद्ध छ : कानुन मन्त्री भट्ट 

बैतडी –शिक्षा र स्वास्थ्यमा सबै नागरिकको पहुँच पुर्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले बताएका छन् । मंगलबार मणिलेक मावि काँडा मेलौलीको ७६ औं बार्षिकोत्सवमा बोल्दै मन्त्री भट्टले दुर्गमका नागरिकको शिक्षा  र स्वास्थ्य क्षेत्रमा समान किसिमले पहुँच पुर्याउन सकेमात्रै संघीयताको अर्थ हुने बताए । 

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि सरकारका तर्फबाट गर्न  सकिने सबै कार्य गर्न आफू प्रतिबद्ध रहेको उनले बताए । मणिलेक मावि तल्लोसोराड क्षेत्रको पुरानो शैक्षिक संस्था भएकाले यसको विकास र विस्तारमा पनि आफूले सक्दो पहल गर्ने उनले बताए । उनले भने ‘शिक्षा क्षेत्रको विकासका लागि मैले सक्ने जति प्रयास गर्नेछु । यहाँहरुले दिएको सल्लाह सुझाव अनुसार अगाडि बढ्नेछु ।’

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै सोही कार्यक्रममा बोल्दै मन्त्री भट्टले विगतमा तल्लोसोराडमा पुगेर मुख्यमन्त्री कमलबहादुर शाहले गरेको प्रतिबद्धता पूरा गर्न पनि सरकार लागि परेको बताए । तल्लोसोराड क्षेत्रमा विद्युतीकरणको कामलाई तीव्रता दिइने उनको दाबी छ । 
मेलौलीमा देखिएको खानेपानी समस्या समाधानका लागि पनि आफूले पहल गर्ने र यो समस्या छिटै समाधान हुने मन्त्री भट्टले बताए । उनले भने ‘म यो क्षेत्रको सांसद पनि हुँ । यो क्षेत्रका समस्या समाधानमा मेरो ध्यान केन्द्रित हुनेछ ।’

विद्यालयको बार्षिकोत्सव समारोहमा बोल्दै मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । 

बार्षिकोत्सव समारोहमा बिद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । उनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आर्थिक बर्षमा ४ करोड ६२ लाख ७५ हजार २ सय ९९ रुपैयाँ आयव्यय रहेको बताए । 

विद्यालयमा अहिले १ करोड ११ लाख ९१ हजार ४४७ रुपैया मौज्दात रहेको प्रधानाध्यापक कलौनीले बताए । 
बार्षिकोत्सवमा समारोहमा विभिन्न सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरिएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update