Sagun Khabar
बैतडीको कालिका माविमा अज्ञात समूहद्वारा आगजनी

बैतडी –बैतडीको एक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिका ६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो । 

विद्यालयका कागजात कोठा बाहिर ल्याएर आगजनी गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए । मंगलबार राति विद्यालयको अफिस कोठाको ढोका फुटालेर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बुधबार बिहानमात्रै कागजपत्र जलाएको जानकारी पाएको प्रधानाध्यापक लेखकले बताए । आगजनीबाट सर्टिफिकेट, मार्कसिट, बैंकमा दाखिला गरेका भौचर, हाजिरी रजिष्टर, दर्ता चलानी लगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका बताइएकको छ । कसले र किन आगजनी गरे भन्ने कुरा खुल्न सकेको छैन् । 

यस्तै विद्यालय नजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलमा पनि चोरी भएको छ । पसलबाट ९ हजार ३ सय बराबरको धनमालको चोरी भएको छ । 

विद्यालयमा आगजनी गरिएको र पसलमा चोरी भएको बिषयमा प्रहरीमा निवेदन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । विद्यालयमा आगजनी गर्ने र चोरी गर्ने समूहको खोजी भइरहेको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update