Sagun Khabar
बैतडीमा आत्महत्याको डर लाग्दो तथ्यांक, ३ बर्षमा १९ बालबालिकाद्वारा आत्महत्या 

बैतडी –बैतडीमा आत्महत्या गर्नेमा बालबालिकाहरुको संख्या थपिँदै गएको छ । पछिल्लो समयमा बालबालिकाहरुले समेत आत्महत्या गर्न थालेपछि यो निकै चिन्ताको बिषयमा भएको जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक पृथ्वीराज अवस्थीले बताए । 

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७७÷७८ मा २ बालक र ४ बालिका गरी ६ जना बालबालिकाहरुले आत्महत्या गरेका थिए । यस्तै आर्थिक बर्ष २०७८÷७९ मा ४ बालक र ४ बालिका गरी ८ जना बालबालिकाहरुले आत्महत्या गरेका थिए । गत आर्थिक बर्षमा ३ बालिका र १ बालक गरी ४ जना बालबालिकाहरुले आत्महत्या गरेका थिए । 

शनिबार मात्रै बैतडीमा एक १२ बर्षीया बालिकाले आत्महत्या गरेकी छन् । स–साना उमेरका बालबालिकाहरु आत्महत्याको शिकार बन्न थालेकाले मानसिक स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उपप्राध्यापक अवस्थीले जोड दिए । 

Atrya hospital

पहिला पहिला आत्महत्याका एकाध घटना हुने भएपनि पछिल्ला केही बर्षयता आत्महत्याका घटना बढ्दै गएका उनले बताए । आत्महत्या गर्नेमा बालबालिकाहरु पनि देखिएकाले यो निकै ठूलो समस्या सिर्जना भएको उपप्राध्यापक अवस्थीले बताए ।  

चालु आर्थिक बर्षको अहिले सम्म ५ जना पुरुष, तीन जना महिला र एक बालिका गरी ९ जनाले आत्महत्या गरिसकेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक बर्षमा १० पुरुष, ११ महिला, ३ बालिका र १ बालक गरी २५ जनाले आत्महत्या गरेका थिए । 

यस्तै आर्थिक बर्ष २०७८÷७९ मा ३६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । आर्थिक बर्ष २०७८÷७९ मा २० पुरुष, ८ महिला, ४ बालक र ४ बालिकाले आत्महत्या गरेका थिए । 

यस्तै आर्थिक बर्ष २०७७÷७८ मा २० पुरुष, १७ महिला, २ बालक र ४ बालिका गरी ४३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । 

विभिन्न मानसिक समस्या, लागु औषध, घरेलु हिंसा लगायतका कारण आत्महत्याका घटना बढ्दै गएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खत्रीको भनाइ छ । मानसिक तनाव लगायतका कारणले यस्ता घटना बढीरहेका उनले बताए । 

आत्महत्याका घटनामा कमी ल्याउनका लागि मानसिक स्वास्थ्यका कार्यक्रम ठाउँठाउँमा सञ्चालन गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । मानसिक स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न सकेमा आत्महत्याका घटनामा केही कमी आउने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update