कैलाली - चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि देशभरका शिक्षण संस्थाहरूमा कुल ९ हजार ६ सय ९१ सिट निर्धारण गर्दा सुदूरपश्चिममा सञ्चालित दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएस अध्ययनका लागि ५० सिट प्राप्त गरेको छ ।
प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । आयोगले समग्र चिकित्सा शिक्षा क्षेत्रमा गत वर्षको तुलनामा ४ सय १८ सिट वृद्धि गर्दा एमबीबीएसतर्फ मात्रै १ सय १० सिट थप गरेको छ ।
जसअन्तर्गत दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ५० सिट पाउँदा सुदूरपश्चिम क्षेत्रमै डाक्टर उत्पादन गर्ने दीर्घकालीन सपना पूरा हुने दिशामा महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ ।
यस वर्ष निजी मेडिकल कलेजहरूको सिटमा कुनै वृद्धि गरिएको छैन । सिट वृद्धिको प्रत्यक्ष लाभ पूर्ण रूपमा सरकारी तथा सार्वजनिक शिक्षण संस्थाहरूले मात्र पाएका छन् ।
सरकारी तथा सार्वजनिक संस्थाहरूमा सिट सङ्ख्या थपिएसँगै सुदूरपश्चिम लगायत देशभरका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति र सुलभ शुल्कमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर व्यापक रूपमा विस्तार हुने अपेक्षा गरिएको छ ।




