
बैतडी –बैतडीका १० ओटा स्थानीय तहमध्ये स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट भएको छ । स्वास्थ्य निर्देशनालयले आयोजना गरेको बार्षिक समीक्षा गोष्ठीमा बैतडीका १० पालिकामध्ये स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै नगरपालिकालाई सम्मानित समेत गरिएको छ ।
निर्देशनालयले विभिन्न सूचकका आधारमा पालिकाहरुलाई उत्कृष्ट घोषणा गरेको हो । गत आर्थिक बर्षमा नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा सञ्चालन गरेका क्रियाकलापको आधारमा मूल्यांकन गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
पाटन नगरपालिकाले गत आर्थिक बर्षमा पालिकाको बजेटमध्ये १२ प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको थियो । यसका साथै आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच पुर्याउनका लागि पालिकाले पहल गरेको भन्दै सम्मानित गरिएको हो ।
नगरपालिकाका तर्फबाट सम्मानपत्र ग्रहण गर्न पाउँदा निकै खुसी लागेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । यो सम्मानले आगामी दिनमा स्वास्थ्यका क्षेत्रमा अझै काम गर्ने हौसला बढेको उनले बताए ।
यस्तै सुदूरपश्चिमका ९ ओटा स्वास्थ्य कार्यालयमध्ये स्वास्थ्य कार्यालय बैतडी तेश्रो भएको छ भने अस्पतालहरुमध्ये बैतडी जिल्ला अस्पताल दोश्रो भएको छ ।