बैतडी, नेपाली कांग्रेसको अधिवेशनमा शिक्षकहरूको खुल्लमखुल्ला सहभागिता र फोटो भिडियो भाइरल भएपछि सरकार कडा रूपमा प्रस्तुत भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले बैतडीसहित विभिन्न जिल्लाका राजनीतिक कार्यक्रममा सहभागी हुने शिक्षकहरूको पहिचान गरी उनीहरूमाथि तत्काल कानुनी कारबाही गर्न विभागीय निर्देशन जारी गरेको छ ।
मन्त्रालयका उपसचिव लिलानाथ पोखरेलद्वारा जारी पत्रमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यानलगायतका जिल्लास्थित सामुदायिक विद्यालयका शिक्षकहरू दलीय कार्यक्रममा सहभागी भएको विषयलाई गम्भीरतापूर्वक लिइएको छ ।
मन्त्रालयले देशका सबै ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई पठाएको पत्रमा शिक्षकहरूको यस्तो गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम १ को खण्ड ग को कानुन विपरीत भएको उल्लेख छ ।
यसरी आचारसंहिता उल्लङ्घन गर्ने शिक्षकहरूको निगरानी गर्न, थप खोजबिन गर्न र स्थानीय तहको समन्वयमा शिक्षा नियमावलीको नियम १३७ को खण्ड ग तथा नियम १४३ बमोजिम आवश्यक कडा कारबाहीको प्रक्रिया अगाडि बढाउन मन्त्रालयले निर्देशन दिएको छ ।
बैतडीमा असोज ३ र ४ गते सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनमा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू दलको ब्यानरमुनि मतदान प्रतिनिधि बन्ने र नवनिर्वाचित पदाधिकारीहरूसँग फोटो सेसन गर्ने कार्यमा सक्रिय देखिएका थिए ।
यसरी प्रमाणका रूपमा फोटो र नाम नै सार्वजनिक भइसक्दा पनि सरोकारवाला निकायहरुले प्रमाणित हुने आधार नभएको भन्दै पन्छिन खोजेपछि चौतर्फी आलोचना भइरहेको थियो । तर, अहिले मन्त्रालयले नै बैतडीको नाम तोकेर पत्र काटेपछि पन्छिन खोज्ने अधिकारी र राजनीतिमा होमिएका शिक्षकहरूमाथि ठूलो नैतिक र कानुनी दबाब परेको छ ।




