
बैतडी –नेपाल –भारत सीमा झुलाघाटस्थित झोलुंगे पुल मर्मत कार्य जारी रहेका कारण पुलमा आंशिक रुपमा मात्रै आवतजावत भइरहेको छ । यही असोज ९ गतेबाट पुलमा मर्मतको काम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पुलमा आंशिक रुपमा मात्रै आवतजावत भइरहेकाले दशैंका लागि घर फर्कनेहरुलाई भने सास्ती भएको छ । पुलमा नियमित आवतजावत नहुँदा दशैंका लागि घर फर्कनेहरुलाई पुलमा सीमा नाकामा सास्ती भइरहेको भारतीय पत्रकार प्रमोद भट्टले बताए ।
झुलाघाट पुल जीर्ण भएका कारण मर्मत सम्भारको काम भइरहेको र दशैं अघि पुल मर्मतको काम नसकिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए ।
पुल मर्मतको काम भइरहेकाले बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि दिउँसो ४ बजेर १५ मिनेटसम्म पुलमा आवागमन बन्द रहेको छ ।
दशैं शुरु भइसकेकाले सोही पुल भएर भारतीय दर्शनार्थीहरु समेत बैतडीमा रहेका शक्तिपीठहरुको दर्शनका लागि पुग्ने गरेका छन् । पुलमा आंशिक रुपमा मात्रै आवतजावत भइरहेका दर्शनार्थीहरुलाई समेत समस्या भएको छ ।
झुलाघाट नाका भएर स्वदेश फर्कनेको संख्या बढेको भएपनि पुलमा नियमित आवतजावत नहुँदा समस्या भएको नागरिकले बताएका छन् ।
भारतीय पक्षले झुलाघाट पुल मर्मतको काम गरिरहेको हो । पुलमा काठका नयाँ फल्याक राख्ने काम भइरहेको छ भने खिया लागेको फलाम पनि बदल्ने काम भइरहेको बताइएको छ ।
सीमा नाका झुलाघाटमा करीब दुईसय बर्ष अघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ । यो पुल जीर्ण भएकाले बेलाबेलामा मर्मतसम्भार गर्ने गरिएको छ ।
झोलुंगे पुल मर्मतका बिषयमा सीमा समन्वय बैठकमा सहमति भएको र सोही अनुसार पुल मर्मतको काम भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।