बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले बालीनालीमा बर्षा, हावाहुरी र असिनाले पुर्याएको क्षतिको विवरण संकलन गर्न थालेको छ । आइतबार बर्षासंगै आएको असिनाले पुर्याएको क्षतिको विवरण सातदिन भित्र संकलन गरिसक्न वडा कार्यालयहरुलाई आग्रह गरिएको छ ।
सोमबार एक सूचना प्रकाशन गर्दै गाउँपालिकाले बर्षा, हावाहुरी र असिनाले पुर्याएको क्षतिको एकीन विवरण बुझाउन भनिएको छ । क्षतिको विवरण संकलन गर्दा कृषि तथा पशु प्राविधिक, जनप्रतिनिधि र प्रहरी प्रशासनसहितको अनुगमन मूल्यांकन गरी क्षतिको विवरण बुझाउन आग्रह गरिएको छ ।
आइतबार साँझ परेको असिनापानीले डिलाशैनीको अधिकांश क्षेत्रमा लगाएको धानबाली नष्ट गरेको छ भने लेकाली क्षेत्रमा भटमासमा समेत क्षति पुर्याएको छ । पाकेको धानबाली असिनाले सखाप पारेको डिलाशैनी ७ का स्थानीय प्रदीप जोशीले बताए ।
खेतमा पाकेको धानबाली भित्र्याउन नपाउँदा किसानहरु चिन्तित बनेका छन् । असिनाले रुखका बोक्रा समेत निकालेको स्थानीय मदन धामीले बताए ।





