
बैतडी –भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्ण रुपमा आवागमन सुचारु भएको छ । आज बिहानैदेखि झुलाघाट पुलमा पूर्ण रुपमा आवागमन सुचारु भएको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । झुलाघाट पुलको मर्मत सम्भार कार्य भइरहेकाले असोज ९ देखि आंशिक रुपमा मात्रै आवतजावत भइरहेको थियो ।
झुलाघाट पुल मर्मत कार्य मंगलबार सकिएकाले आजदेखि पूर्ण रुपमा आवागमन सुचारु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
झुलाघाट नाकामा करीब दुई सय बर्ष अघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत हुँदै आएको छ । पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा पुल मर्मत सम्भार गर्ने निर्णय भएको थियो ।
भारतीय पक्षले पुल मर्मतसम्भारको काम गरिसकेपछि नाका पूर्ण रुपमा सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
झुलाघाट नाका पूर्ण रुपमा सञ्चालनमा आएसंगै दशैंका लागि घर फर्कने नागरिकहरुलाई सहज भएको छ । नाकामा आंशिक रुपमा मात्रै आवतजावत भइरहेका बेला घर फर्कने नागरिकलाई समस्या भएकोमा आजदेखि सहज भएको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ ।
झुलाघाट नाकाबाट दशैंका लागि दैनिक दुई सय बढी नागरिक स्वदेश फर्किरहेका छन् । रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा गएकाहरु दशैंका लागि घर फर्कीरहेका हुन् । झोलुंगे पुल मर्मतको काम सकिएपछि नाकाबाट स्वदेश फर्कनेहरुलाई सहज भएको सीमा प्रहरीचौकी झुलाघाटका इञ्चार्ज जयसिंह भाटले बताए ।
झुलाघाट पुलमा काठका नयाँ फल्याक राख्नुका साथै खिया लागेको फलाम समेत फेरबदल गरिएको छ । यस्तै रंगरोगनको काम समेत मर्मतकार्य अन्तर्गत गरिएको बताइएको छ ।
नाका पूर्ण रुपमा सुचारु भएसंगै दशैंको समयमा बैतडीका शक्तिपीठहरुमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीहरुलाई समेत सहज भएको भारतीय पत्रकार प्रमोद भट्टले बताए । बैतडीका निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, उदयदेव लगायतका मन्दिरहरुमा दर्शनका लागि दशैंको समयमा भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् ।
सीमा क्षेत्रका नागरिकहरुबीच धार्मिक सम्बन्ध समेत रहेकाले झुलाघाट नाका पूर्ण रुपमा सुचारु भएपछि दुवै देशका नागरिकलाई सहज भएको पत्रकार भट्टको भनाइ छ ।
सीमा क्षेत्रमा पारिवारिक, सामाजिक र धार्मिक सम्बन्ध रहेकाले भारतीय दर्शनार्थीहरु दशैंको समयमा नेपालका शक्तिपीठहरुको दर्शनका लागि आउने गरेका छन् । यसले गर्दा सीमा क्षेत्रका नागरिकको आपसी सम्बन्ध समेत बलियो रहेको बताइएको छ ।