Sagun Khabar
बैतडीमा क्याम्पस स्थापनाका लागि एक सामुदायिक वनको ८ लाख ८८ हजार सहयोग 

बैतडी –बैतडीमा क्याम्पस स्थापनाका लागि बैतडीको एक सामुदायिक वन उपभोक्ता समूहले ८ लाख ८८ हजार ८८८ रुपैंया सहयोग गरेको छ ।  

जिल्लाको पाटन नगरपालिका ३ मा सिगास बहुमुखी क्याम्पस स्थापनाका लागि पाटन ९ मा रहेको सल्लेबासा सामुदायिक वन उपभोक्ता समितिले ८ लाख ८८ हजार ८८८ रुपैंया सहयोग गरेको क्याम्पस सञ्चालन तदर्थ समितिका संयोजक प्रेमसिंह भाटले जानकारी दिए । 

Atrya hospital

अहिले सम्म क्याम्पस स्थापनाका लागि ६१ लाख बढी आर्थिक सहयोग संकलन भइसकेको उनले बताए । पाटन नगरपालिका–३ स्थित सिगास मावि गौरीशंकर पोखरी गुरुडामा क्याम्पस स्थापनाको पहल भइरहेको हो । सुदूरपश्चिम विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसको रुपमा सिगास बहुमुखी क्याम्पस स्थापनाको पहल भइरहेको भाटले बताए । 

सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्तिका लागि निवेदन दिइसकेको र अन्य तयारीहरु भइरहेको क्याम्पस सञ्चालन तदर्थ समितिले जनाएको छ । विश्व विद्यालयले आह्वान गरेको सूचनाको आधारमा निवेदन पेश गरिसकेको र क्याम्पस स्थापनाका लागि धरौटी, फर्निचर लगायत आवश्यक पुर्वाधार निर्माणका लागि आर्थिक संकलन अभियान जारी रहेको संयोजक भाटले बताए । 

क्याम्पस सञ्चालनका लागि अहिले गौरीशंकर माविकै भवनभित्र कक्षाकोठा र कार्यालयको व्यवस्थापनको गरिएको छ । 
सिगास बहुमुखी क्याम्पसमा स्नातक तहमा शिक्षा र वाणिज्य संकायमा पठनपाठन गर्ने तयारी भइरहेको उनले बताए । घर नजिकैको विद्यालयबाटै उच्च शिक्षा हासिल गर्न सहज होस भनेर क्याम्पस स्थापनाको पहल भइरहेको हो । 

विश्वविद्यालयले क्याम्पसको अनुगमन गरेपछि सम्बन्धन प्रदान गर्ने बताइएको छ । विश्वविद्यालयको सम्बन्धनपछि चालु शैक्षिक सत्रबाटै पठनपाठनको तयारी भएको भाटले बताए । 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update