Sagun Khabar
सुर्नयाको झाड्बोमा सुरक्षित प्रसूती सेवा केन्द्र सञ्चालन 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका ७ झाड्बोमा सुरक्षित प्रसूती सेवा केन्द्र सञ्चालनमा आएको छ । सुरक्षित प्रसूती सेवा केन्द्रमा जनशक्तिको व्यवस्थापन गरेसंगै बुधबार एक कार्यक्रमकाबीच केन्द्रको उद्दघाटन गरिएको शिखरपुर स्वास्थ्यचौकीका इञ्चार्ज बिरबहादुर बोहराले बताए । 

सुदूरपश्चिम प्रदेश सरकारको २५ लाखको लगानिमा दुई बर्ष अघि भवन निर्माण भएपनि जनशक्तिको अभावमा सुरक्षित प्रसूती सेवा केन्द्र सञ्चालनमा आउन सकेको थिएन् । सुर्नया गाउँपालिकाले जनशक्तिको व्यवस्थापन गरेसंगै सुरक्षित प्रसूती सेवा केन्द्र सञ्चालनमा आएको इञ्चार्ज बोहराले बताए । 

Atrya hospital

सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको भवन उद्दघाटन कार्यक्रममा उपाध्यक्ष मञ्जु बोहरा बिशिष्ट अतिथी रहेकी थिइन् । यस्तै सुर्नया गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष भक्तबहादुर कुँवर, सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महरा लगायत अन्य सरोकारवालाहरुको समेत उपस्थिती रहेको थियो । 

झाड्बोमा सुरक्षित प्रसूती सेवा केन्द्र सञ्चालनमा आएसंगै यो क्षेत्रका आमाहरुले घरमै बच्चा जन्माउनुपर्ने बाध्यताको अन्त्य भएको छ । गाउँबाट स्वास्थ्यचौकी टाढा हुँदा आमाहरु घर तथा बाटोमै बच्चा जन्माउन बिवश थिए । सुरक्षित प्रसूती सेवा केन्द्र सञ्चालनमा आएसंगै अब समस्या समाधान भएको बोहराले बताए । 

तत्कालका लागि सुरक्षित प्रसूती सेवा केन्द्रमा एकजना अनमी खटाएको छ भने थप स्वास्थ्यकर्मी खटाइने सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । सुर्नयाका विभिन्न १३ ओटा स्वास्थ्य संस्थाहरुबाट सुरक्षित प्रसूती सेवा प्रदान भइरहेको उनले बताए । 

झाड्बोमा सुरक्षित प्रसूती सेवा केन्द्र सञ्चालनमा आएसंगै घरमा हुने सुत्केरी शून्य वडा घोषणाको अभियान शुरु भएको शिखरपुर स्वास्थ्यचौकीका इञ्चार्ज बिरबहादुर बोहराले बताए । 

मातृ मृत्यु तथा शिशु मृत्युदरलाई शून्यमा झार्नका लागि घरमा हुने सुत्केरी शून्य अभियान सञ्चालन गरिने उनले बताए । 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update