
बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले इजाजत नलिइ अवैध रुपमा हुने मदिराको विक्रिवितरणमा रोक लगाएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै चाडपर्वको समयमा मदिराकै कारण विभिन्न घटना हुने भएकाले इजाजत बिना मदिराको कारोबार गर्न नपाइने उल्लेख गरेको छ ।
चाडपर्वको बेला शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर राखेर अवैध मदिराको कारोबारमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए ।
यस्तै इजाजत प्राप्त गरेकाहरुले पनि साँझ ५ बजेदेखि ८ बजेसम्म मात्रै मदिराको विक्रि वितरण गर्न पाइने सूचनामा उल्लेख गरिएको छ । गाउँपालिकाको सूचना अवज्ञा गरेमा कानुन बमोजीम कारवाही हुने समेत जनाइएको छ ।
यस्तै मदिराको सेवन गरी होहल्ला, झैझगडा गरेमा त्यस्ता व्यक्तिहरुलाई पनि कानुन बमोजीम कारवाही हुने गाउँपालिकाले जनाएको छ ।