
बैतडी–बैतडीका विभिन्न बजारहरुमा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र खाद्य प्रवधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयद्वारा संयुक्त रुपमा बजार अनुगमन गरिएको हो ।
यस्तै केही स्थानीय तहहरुले पनि बजार अनुगमन गरिरहेका छन् । चाडपर्वको समयमा कालोबजारी नहोस, उपभोक्ता ठगिनबाट बचुन भन्ने उद्देश्यले बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख खाद्य अनुसन्धान अधिकृत ललित कठायतले बताए ।
पछिल्लो समयमा बजार अनुगमन गर्दा व्यापारी र उपभोक्ता दुवै सचेत भएका पाइएको कठायतले बताए । केही दिनअघिमात्रै खोड्पे बजारमा अनुगमन गर्दा म्याद नाघेका, अखाद्य सामग्री नभेटिएको उनले बताए । पहिला पहिला बजार अनुगमन गर्दा हजारौं मूल्यका अखाद्य सामग्री भेटिने गरेको भएपनि पछिल्लो समयमा व्यापारी र उपभोक्ता दुवै सचेत हुन थालेका उनले बताए ।
यस्तै सदरमुकामस्थित गोठलापानी, शाहीलेक, छेला लगायतका क्षेत्रमा ३४ ओटा पसलमा अनुगमन गर्दा ११ ओटा पसलबाट ३४ हजार बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरेको कठायतले बताए । पहिलाको तुलनामा सदरमुकाम क्षेत्रमा पनि बजारमा सुधार आएको उनको दाबी छ । उनले भने ‘पछिल्लो समयमा बजार अनुगमन गर्दा बजारमा केही अनुशासन कायम भएको हामीले पाएका छौं । म्याद नाघेका सामग्री खरीद–विक्रि गर्न हुन्न भन्ने सोच उपभोक्ता र व्यापारी दुवैले थाहा पाएका छन् ।’
बजार अनुगमनका क्रममा केही व्यापारीहरुले सम्बन्धित निकायमा दर्ता तथा नवीकरण नगरेको पाइएकाले सम्बन्धित निकायमा दर्ता तथा नवीकरण गर्न आग्रह गरिएको खाद्य अनुसन्धान अधिकृत कठायतले बताए ।
यस्तै पालिकाहरुले पनि आफ्नो बजार क्षेत्रमा अनुगमन गरिरहेका छन् । सुर्नया गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका बजारहरु अनुगमन गरिरहेको उपाध्यक्ष मञ्जु बोहराले बताइन् । सतबाँझ क्षेत्रका केही पसलहरुमा अनुगमन गरेको उनले बताइन् ।