Sagun Khabar
बैतडीमा भित्र्याइयो फूलपाती

बैतडी- बैतडीमा  फूलपाती भित्र्याएको छ  । आज शाहीलेकमा रहेको भैरव मन्दिरमा निसानहरु लगेर पूजाआजा गरी दशैं घरमा फूलपाती भित्र्याइएको हो । नेपाली सेना, सशस्त्र प्रहरी,र नेपाल प्रहरीले फूलपाती भित्र्याइएका हुन्  ।

जिल्ला सदरमुकाम गढीबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले शाहीलेकस्थित निशानदेवी भगवतीको मन्दिरमा बोकाको बलि दिई  फूलपाती भित्र्याएको नेपाली सेनाको  हनुमानध्यव गुल्म गढी व्यारेकका सुबेदार  कृष्णान्नद जोशीले  जानकारी दिए ।

 उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सलामी  समेत अर्पण गरेका थिए ।  फूलपाती भित्र्याउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसँगै सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता रहेको थियो । फूलपाती भित्र्याउने साइत अनुसार नै फूलपाती भित्र्याइएको सुबेदार जोशीले बताए ।  आज दशैंको सातौ दिन देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याउने चलन रही आएको छ ।

देशभरी घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ । आश्विन शुक्ल सप्तमी अर्थात फूलपातीका दिन फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update