बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाका पूर्व अध्यक्ष उकेन्द्रबहादुर बोहराको निधन भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान निधन भएको उनका भाइ भोजबहादुर बोहराले बताए ।
डिलाशैनी गाउँपालिका वडा नं ३ घर भएका ४५ बर्षीय बोहराको असोज २९ गते स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा हुँदै सेती प्रादेशिक अस्पताल लगिएको थियो । क्षयरोगबाट पीडित बोहराको उपचारकै क्रममा मृत्यु भएको हो । उनी गएको ३ बर्ष यता क्षयरोगबाट पीडित रहेका थिए ।
नेकपा एमाले बैतडीको सचिवालय सदस्य समेत रहेका बोहराको घरमा श्रीमति दुई छोरा र दुई छोरी रहेका छन् । बोहराको शुक्रबार गृह जिल्ला बैतडीमै दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट डिलाशैनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका बोहरा शान्त स्वभावका नेताको रुपमा परिचित थिए ।




