
बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकामा आज शोक बिदा दिइएको छ । गाउँपालिकाका पूर्व अध्यक्ष उकेन्द्रबहादुर बोहराको निधन भएकाले आज शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै गाउँपालिकाको संस्थापक अध्यक्षको रुपमा बोहराले पुर्याएको योगदान सधैं जिवन्त रहने उल्लेख गरिएको छ । यस्तै समन्वयकारी भूमिका र समाज विकास तथा रुपान्तरणका लागि बोहराका सपना पूरा गर्ने समेत शोक बक्तव्यमा उल्लेख गरिएको छ ।
गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीद्वारा जारी गरिएको शोक वक्तव्यमा शुक्रबार पालिकाभरीका सबै वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्यसंस्था लगायत पालिका मातहतका सबै कार्यालयहरुमा शोक बिदा रहने उल्लेख गरिएको छ ।
क्षयरोगबाट पीडित पूर्व अध्यक्ष बोहराको उपचारका क्रममा बिहीबार बिहान सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
डिलाशैनी गाउँपालिका वडा नं ३ घर भएका ४५ बर्षीय बोहराको असोज २९ गते स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा हुँदै सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनी गएको ३ बर्ष यता क्षयरोगबाट पीडित रहेका थिए ।
बोहराको आज गृह जिल्ला बैतडीमै दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट डिलाशैनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका बोहरा शान्त स्वभावका नेताको रुपमा परिचित थिए ।