
बैतडी –दशैं सकिएसंगै सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट तराईका जिल्ला जाने यात्रुहरुको संख्या बढेको छ । दशैंको लागि पुख्र्यौली थलोमा आएकाहरु कर्मथलोतर्फ फर्कने क्रम बढेको यातायात व्यवसायी कर्णबहादुर पाण्डेले बताए ।
दशैंको समयमा पूजापाठका लागि आएकाहरु फर्कने क्रम बढेको निङ्गलाशैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले बताए । दशैंको समयमा विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा र पूजाआजा हुने भएकाले पहाड आएकाहरु दशैं सकिएसंगै कर्मथलोतर्फ फर्किएका उनले बताए । उनले भने ‘यताबाट बसाइसराई गरेर गएकाहरु पनि दशैंको समयमा पुख्र्यौली थलोमा आउने गरेका छन् । अब दशैं सकिएपछि कर्मथलोतर्फ फर्कनेहरुको संख्या बढेको छ ।’
पहाडबाट तराई जाने गाडीहरुको यात्रुको चाप बढेको यातायात व्यवसायीहरुले बताएका छन् । उभिएर यात्रा गर्नुपर्ने अवस्था रही आएको बैतडीबाट धनगढी जाँदै गरेका एक यात्रु पुष्कर अवस्थीले बताए । पहाडबाट तराई जाने गाडीमा ठाउँ पाउनै मुस्किल हुने गरेको उनले बताए ।
दशैंका सकिएपछि तराई फर्कनेको संख्या बढेकाले यात्रुहरुले बढी भाडा तिरेर भएपनि जानुपर्ने बाध्यता रही आएको छ । सार्वजनिक यातायातको संख्या कम भएकाले निजी सवारी साधनमा यात्रुहरुले बढी भाडा तिर्नुपर्ने अवस्था रहेको महाकाली बहुउद्देश्यीय यातायातका सतबाँझ सम्पर्क व्यक्ति कर्णबहादुर पाण्डेले बताए । उनले भने ‘अहिलेको समयमा तराई जानेको संख्या बढेको छ । आवश्यकता अनुसार सवारी साधन नहुँदा यात्रुहरुले निजी सवारी साधनमा बढी भाडा तिर्नुपर्ने बाध्यता रही आएको छ ।’
दशैं सकिएपछि कर्मथलोमा फर्कने भएकाले तराई जानेको संख्या बढेको धनगढी जाने तयारी गरिरहेका सुर्नया ६ का हरिश अवस्थीले बताए । अन्य समयको तुलनामा यो समयमा तराई जाने यात्रुहरुको संख्या स्वभाविक रुपले बढीरहेको उनले बताए । उनले भने ‘यो समयमा तराई जानेको संख्या बढ्नु स्वभाविक हो । दशैंका लागि पहाड आएकाहरु तराई फर्किरहेका छन् ।’
तराईतर्फ जाने यात्रुहरुलाई सार्वजनिक सवारी साधनमा सीट पाउन मुस्किल भएको पाटन काउण्टरका सम्पर्क व्यक्ति दिनेश बिष्टले बताए । सार्वजनिक सवारी साधनको संख्या कम हुँदा निजी गाडीमा महंगो भाडा तिरेर यात्रुहरु तराई जान बाध्य रहेका उनले बताए ।
बैतडी, दार्चुला, बझाङ लगायतका पहाडी जिल्लाबाट तराईका लागि छुट्ने गाडीहरुमा यात्रुहरुको चाप बढेको प्रहरीले जनाएको छ । दशैं सकिए लगत्तै तराई जाने गाडीमा यात्रुहरुको चाप बढेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।