
बैतडी –जिल्ला अस्पताल बैतडीमा भोलि मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । हरेक महिनाको १३ गते मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम अनुसार भोलि शिविर सञ्चालन हुने जिल्ला अस्पतालका सूचना अधिकारी चन्द्रसिंह डोबालले बताए ।
विश्व स्वास्थ्य संगठनसंगको सहकार्यमा शिविर सञ्चालन हुने र यसका लागि आवश्यक तयारी पूरा भएको सूचना अधिकारी डोबालले बताए । शिविरमा मानसिक रोगीहरुको चेकजाँचका साथै उपचार गरिने उनले बताए ।
शिविरमा मानसिक रोग बिशेषज्ञ डा. निराजन भट्टराईले सेवा दिने जिल्ला अस्पतालले जनाएको छ । शिविरमा आएर सेवा लिनका लागि मानसिक समस्या भएका बिरामीहरुलाई आग्रह गरिएको छ ।
पछिल्लो समयमा मानसिक रोगहरु जनस्वास्थ्यको समस्याको रुपमा देखिएकाले स्थानीय नागरिकलाई सहज होस् भनेर बिशेषज्ञ शिविरको आयोजना गरिएको डोबालले बताए । शिविरमा बिरामीको चेकजाँचका साथै आवश्यक परामर्शसमेत दिइने उनले बताए ।
निशुल्क रुपमा सञ्चालन हुने शिविरमा नेपाल सरकारले प्रदान गरेका औषधिहरु निशुल्क रुपमा बिरामीहरुलाई प्रदान गरिने बताइएको छ ।