
बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले चालु आर्थिक बर्षका योजनाहरु कार्यान्वयनका लागि सम्झौताका लागि एक महिनाको समय तोकेको छ । वडा तथा पालिकास्तरीय योजनाको सम्झौताका लागि कार्तिक १५ गतेदेखि मंसिर १५ गते सम्मको समय तोकिएको गाउँपालिकाका इन्जिनियर कपिलदेव भट्टले जानकारी दिए ।
चालु आर्थिक बर्षका योजनाहरु समयमै सम्पन्न गर्नका लागि मंसिर १५ भित्र सम्झौता गरिसक्ने मिति तय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । आर्थिक बर्षको अन्त्यतिर योजना सम्पन्न गर्ने प्रवृतिको अन्त्यका लागि मंसिरमै योजनाको सम्झौता गरेर कार्यान्वयन चरणमा लैजाने तयारी भएको उनले बताए ।
गाउँसभाबाट पारित भएका चालु आर्थिक बर्षका योजनाहरुलाई समयमै कार्यान्वयन गर्ने र समयमै सम्पन्न गर्नका लागि पालिकाले पहल गरिरहेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । योजना तथा कार्यक्रमहरु समयमै सम्पन्न गर्ने आफूहरुको लक्ष्य रहेको अध्यक्ष कुँवरले बताए ।