Sagun Khabar
भदौमा हराएका बैतडीका शिक्षक जयबहादुरको अवस्था अझै अज्ञात, परिवार चिन्तामा 

बैतडी –गएको भदौ ५ गतेदेखि बेपत्ता भएका शिक्षक जयबहादुर बोहराको अवस्था अझै अज्ञात रहेको छ । बोहरा बेपत्ता भएको अढाई महिना भइसक्दा समेत पत्ता नलागेपछि परिवारजन चिन्तित भएका छन् । 

जिल्लाको डिलाशैनी गाउँपालिका २ गोगनी घर भएका ५२ बर्षीय शिक्षक बोहरा गएको भदौ ५ गतेदेखि बेपत्ता रहेका हुन् । 

Atrya hospital

लटिनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते विद्यालयबाटै बेपत्ता भएका थिए । बेपत्ता शिक्षकको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

प्रहरीले सबै ठाउँमा खोजी गर्दा समेत कहिँकतै फेला नपरेको प्रहरी निरीक्षक खत्रीले बताए । शिक्षक बोहराको कल डिटेल्स हेर्दा समेत केही पत्ता लाग्न नसकेको उनको भनाइ छ । उनले भने ‘हामीले बेपत्ता शिक्षकको खोजीका लागि सम्भव भएसम्मका सबै प्रयास गरेका छौं । त्यति गर्दा समेत शिक्षक बोहराको अवस्था अज्ञात नै छ ।’

दिनभरी विद्यालयमा पढाएर साँझदेखि बेपत्ता भएका शिक्षकको अहिले सम्म अवस्था अज्ञात हुँदा आफूहरु निकै चिन्तामा परेको उनका आफन्त कर्ण धामीले बताए । आफ्नो आफन्त हराएको अढाई महिना भइसक्दा समेत केही पत्ता नलागेको उनले बताए । उनले भने ‘हामीले धेरै ठूलो चिन्ता भएको छ । उहाँ कस्तो अवस्था हुनुहुन्छ भन्ने पनि जानकारी भएको छैन् । मरे÷जिउँदोको पत्ता समेत नलाग्दा हामीलाई निकै समस्या भएको छ । सरकारले समेत खोजीमा खासै चासो दिएको छैन् ।’

बेपत्ता शिक्षक बोहरा हराएको भोलिपल्ट गन्नीगाड नदीको किनारमा उनले लगाएको चप्पल,टोपी, छाता फेला परेको थियो । उनका आफन्तले बोहराले प्रयोग गर्ने मोबाइल समेत नदी किनारमै फेला पारेका थिए । 

चमेलिया नदी किनार र महाकाली नदी किनारमा समेत बेपत्ता शिक्षक बोहराको खोजी गरिएको प्रहरी निरीक्षक खत्रीले बताए । उनको हुलिया अन्य जिल्ला समेत पठाइएको तर अहिले सम्म कहिँबाट केही जानकारी नआएको प्रहरी निरीक्षक खत्रीले बताए । 

शिक्षक बोहरा हराएको अढाई पनि भइसक्दा समेत उनको अवस्था अज्ञात रहँदा उनका सहकर्मीहरु समेत चिन्तित भएका छन् । केही दिन प्रहरीसंगै विद्यालयका शिक्षकहरु समेत खोजीकार्यमा जुटेपनि शिक्षक बोहरा कहिँकतै फेला नपरेका लटिनाथ आधारभूत विद्यालयका शिक्षक लोकेन्द्र धामीले बताए । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update