Sagun Khabar
बैतडीका  विपिन जोशी हमासको नियन्त्रणमा   रहेको पुष्टि

बैतडी- इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका बैतडीका  विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ ।

जिल्लाको  दोगडाकेदार गाउँपालिका   वडा नं  १ रिम घर भएका जोशी अक्टोबर ७ देखि बेपत्ता थिए । इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो ।

Atrya hospital

 तर, जोशी गाजापट्टीको कुन क्षेत्रमा राखिएको छ भनेर इजरायलले प्रस्ट बताउन भने सकेको छैन । प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ । तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना रहेको बताइएको  छ ।  

उनीहरूलाई पनि किबुजबाटै बन्धक बनाएर लगिएको हो । उनीहरू कृषि क्षेत्रमा काम गर्थे । हमासले अर्जेन्टिनाका २१, जर्मनीका १८, अमेरिकाका १०, फ्रान्स र रसियाका ७÷७ जना नागरिकलाई समेत बन्धक बनाएको छ । हंगेरीका ४, पोल्यान्ड र पोर्चुगलका ३÷३, चीन, फिलिपिन्स, रोमानिया, तान्जिनिया र बेलायतका २÷२, अस्ट्रिया, ब्राजिल, क्यानडा, डेनमार्क, आयरल्यान्ड, लुथिनिया, मेक्सिको, नेदरल्यान्ड्स, सर्बिया, दक्षिण अफ्रिका, श्रीलंका, युक्रेन र उरुग्वेका एक–एक जना हमासको नियन्त्रणमा छन ।

थप एक सय १८ जना इजरायली नागरिकलाई पनि हमासले बन्धक बनाएको कार्यालयले जनाएको छ । जोशीलाई मुक्त गराउन सरकारले कतारको सहयोग लिनुपर्ने कतारका लागि एक पूर्वराजदूतले बताएका छन् ।  नेपालसँग बलियो श्रम कूटनीति रहेको कतारका अमिरको नेपाल भ्रमण भने इजरायल–हमास युद्धले मध्यपूर्वमा देखिएको बढ्दो तनावले अन्तिम समयमा आएर रद्द भएको छ ।

बीबीसीले पनि बन्धकहरूको भाग्य ‘केही हदसम्म कतारको हातमा’ रहेको उल्लेख गरेको छ । कतारले इजरायल र हमासबीचको मुख्य मध्यस्थकर्ताका रूपमा अद्वितीय भूमिका निर्वाह गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update