
बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ५ को कार्यालयले अवैध मदिराको सेवन र कारोबारमा रोक लगाएको छ । अवैध मदिराको विक्रिवितरणले समाजमा अशान्ति फैलिएको व्यापक जनगुनासो आएकाले अवैध मदिराको सेवन र कारोबारमा रोक लगाउने निर्णय भएको वडा नं ५ का वडा अध्यक्ष यज्ञराज भट्टले बताए ।
वडा पालिकाको आज(बिहीबार) बसेको बैठकले वडाभित्र अवैध मदिराको कारोबार र सेवन गरेमा जरीवाना समेत गर्ने निर्णय गरेको छ ।
इजाजत बिना खुद्रा पसल तथा अन्य पसलहरुबाट मदिराको विक्रि वितरणमा गरेमा पहिलो पटक १० हजार र दोश्रो पटक २० हजार जरीवाना गर्ने निर्णय भएको छ । यस्तै अवैध रुपमा ओसारपोसार गरेमा पहिलो पटक ५ हजार र दोश्रो पटक १० हजार जरीवाना गर्ने निर्णय भएको वडा अध्यक्ष भट्टले बताए ।
यस्तै मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा प्रवेश गरेमा, आपसी झैझगडा गरेमा, गालीगलौज र अमानवीय क्रियाकलाप गरेमा पहिलो पटक ५ हजार र दोश्रो पटक १० हजार जरीवाना गर्ने निर्णय भएको छ ।
वडा कार्यालयको निर्णय विपरीत कसैले अवैध रुपमा मदिराको कारोबार र सेवन गरेमा कानुनी कारवाही हुने वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
ग्रामीण क्षेत्रमा इजाजत बिनै मदिराको विक्रि वितरण गर्ने प्रचलन रही आएको छ । खुद्रा, किराना पसलहरुबाट समेत बिना इजाजत मदिराको विक्रि वितरण हुने गरेको र यसले समाजको शान्ति सुरक्षामा खलल पुर्याइरहेको स्थानीयबासिन्दाहरुले बताएका छन् ।