
बैतडी –स्थानीय तहहरुले विकास निर्माणका खुद्रे योजनाहरुलाई निरन्तरता दिइरहेका छन् । हरेक बर्ष खुद्रे योजनाहरुमा बजेट विनियोजन गर्ने गरेको पाइएको छ । स्थानीय सरकारका धेरै योजनाहरु ५० हजारको लगानिमा निर्माण गर्ने गरेर रकम विनियोजित गरेको पाइएको छ ।
जिल्लाको सुर्नया गाउँपालिकामा २० हजारदेखि ५० हजारका धेरै योजनाहरु रहेका छन् । चालु आर्थिक बर्षमा कार्यान्वयन हुने विकास निर्माणका योजनाहरुमा २० हजारदेखि ५० हजारका योजना समेत अटाएका छन् ।
सुर्नया गाउँपालिकामा मात्रै ५० हजारभन्दा मुनिका ८० को हाराहारीमा योजनाहरु रहेका छन् । वडास्तरीय मात्रै नभएर पालिकास्तरीय योजनाहरु समेत २० हजारका रहेका सुर्नयाका स्थानीय चन्द्रसिंह ऐरीले बताए । सबैको चित्त बुझाउने हिसाबले खुद्रे योजनाहरु बनाउनु हितकर नहुने उनले बताए ।
२० हजारको योजना निर्माणका लागि पनि उपभोक्ता समिति गठन प्रक्रिया र अन्य सबै प्रक्रिया ठूला योजनाको जस्तै हुने गर्दछ । त्यस्ता योजनाहरु कार्यान्वयन गर्दा धेरै रकम प्रक्रियामै सकिने र काम पनि नदेखिने खालको हुने ऐरीले बताए ।
पालिकाले विनियोजन गरेका योजनाहरुमा २० हजार, २५हजार, ३० हजार र ४० हजार लागतका योजनाहरु समेत समावेश गरिएका छन् । यस्ता खालका योजनाहरुले दिगो विकास निर्माणका कामहरु नहुने जानकारहरुको भनाइ रहेको छ ।
पालिकाहरुले ठूलो लगानीका दिगो योजनाहरु बनाउने योजना तर्जुमा प्रक्रियाका जानकार तेजराम लोहारले बताए । उनले भने ‘स्थानीय तहहरुले योजना बनाउँदा टुक्रे र खुद्रे योजना बनाउनुभन्दा ठूलो लगानिका योजनाहरु बनाउनुपर्छ ।’