
बैतडी –जाजरकोट र रुकुमपश्चिममा भूकम्प पीडितलाई सहयोग पुर्याउन स्वास्थ्य सामग्रीसहित सुदूरपश्चिम प्रदेशबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिएको छ ।
भूकम्पपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले शनिबार रू एक करोड रकम सहयोगका साथै प्रभावित क्षेत्रमा २० जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार आज बिहान सुर्खेत पुगेर टोलीले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेललाई औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका विपद् सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका वरिष्ठ अर्थोपेडिक डा. शिवराज पनेरुको नेतृत्वमा चार सदस्यीय स्वास्थ्यर्मीको टोली खटिएको उनले बताए । कर्णाली पुगेर मन्त्रीलाई रू साढे तीन लाख बढीको औषधि र विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको प्रभावित क्षेत्रमा खटिनका लागि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयसँग समन्वय भइरहेको उनले बताए ।
डा. पनेरु नेतृत्वको चार सदस्य टोलीमा निर्देशनालयका विपद् सम्पर्क व्यक्ति जोशी, गेटा मेडिकल कलेजका डा गणेश फुलारा र स्वास्थ्य कार्यालय धनगढीका मीनबहादुर धामी छन् ।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिमका एक सय ५७ जनाले ज्यान गुमाएका छन् ।
भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ ।