बैतडीको शिवनाथले भूकम्प प्रभावितलाई १ लाख २५ हजार सहयोग गर्ने
बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितहरूलाई राहत स्वरुप आर्थिक सहयोग गर्ने भएको छ । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले राहतस्वरुप १ लाख २५ हजार रुपैंया उपलब्ध गराउने निर्णय गरेको हो ।
राहतस्वरुप जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटलाई ७५ हजार र जिल्ला विपद् व्यवस्थापन समिति रुकुमपश्चिमलाई ५० हजार उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।
विपद्को घडीमा सबै मिलेर काम गर्नुपर्ने भएकाले गाउँपालिकाको तर्फबाट सहयोग गरिएको अध्यक्ष साउँदले बताए ।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा १५७ जनाको मृत्यु भएको छ भने १७० जना घाइते भएका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० १९:३४
प्रतिक्रिया दिनुहोस्




