बैतडी–बैतडीमा यो बर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत बर्षको तुलनामा यो बर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।
जिल्लामा यो बर्ष १६ हजार १३५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान बैतडीका तथ्याङ्क अधिकृत मिलन कँडेलले जानकारी दिए । बैतडीमा ९ हजार हेक्टर क्षेत्रफल जमीनमा धानखेती हुँदै आएको छ ।
गत वर्ष बैतडीमा १६ हजार ९० मेट्रिक टन धान उत्पादन भएको थियो ।
समयमा नै रोपाँइ सम्पन्न भएको तथा भित्र्याउने बेलामा वर्षा नहुँदा गत वर्षको तुलनामा यो धान उत्पादनमा वृद्धि भएको कँडेलले बताए ।
बैतडीको पाटन क्षेत्रलाई धान उत्पादनका लागि पकेट क्षेत्र मानिएको छ । यसका साथै गोकुलेश्वर, हाट, ढुंगाड, सलेना, सुर्नया लगायतका क्षेत्रलाई धान उत्पादनका लागि पकेट क्षेत्र मानिएको छ ।
यस्तै यो बर्ष वर्ष जिल्लामा मकैको उत्पादनमा समेत वृद्धि भएको छ । १२ हजार दुई सय हेक्टर क्षेत्रफल जमीनमा मकै खेती गरिएकोमा यो वर्ष २२ हजार १४५ मेट्रिक टन उत्पादन भएको उनले जानकारी दिए ।
धान र मकै उत्पादनमा वृद्धि भएको भएपनि आवश्यकता अनुसारको खाद्यान्न भने उत्पादन हुन सकेको छैन् । बैतडीमा बार्षिक ४६ हजार ६८० मेट्रिकटन खाद्यान्न आवश्यक भएपनि ३४ हजार ३९९ मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ ।
आवश्यकता अनुसार खाद्यान्न उत्पादन नहुँदा तराईका जिल्लाबाट खाद्यान्न आयात गर्नुपर्ने अवस्था रही आएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले बताए ।




