बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले जाजरकोट भूकम्पले प्रभावित भएका नागरिकहरुलाई सहयोग पुर्याउन नगद राहत प्रदान गरेको छ ।
गाउँकार्यपालिकाको निर्णय अनुसार जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला विपद् व्यवस्थापन समिति रुकुमपश्चिमको खातामा रकम जमा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए ।
गाउँकार्यपालिकाले जाजरकोटमा ७५ हजार र रुकुमपश्चिममा ५० हजार आर्थिक सहयोग पठाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार दुवै जिल्लाको विपद् व्यवस्थापन समितिको खातामा रकम जमा गरिएको प्रमुख प्रशासकीय अधिकृत महताले बताए ।
विपद्को समयमा सबै मिलेर सहयोग गर्नुपर्ने भएकाले गाउँपालिकाका तर्फबाट सहयोग गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।
गएको शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परी १५७ जनाको ज्यान गएको थियो भने १७० जना घाइते भएका छन् ।
भूकम्पका कारण सैयौं संरचनाहरु क्षति भएको छ भने कैयौं नागरिकहरु घरबारविहिन भएका छन् ।




