Sagun Khabar
तिहार लक्षित सुरक्षा : बैतडीमा दुई सय बढी प्रहरी परिचालन 

बैतडी –दशैंजस्तै तिहारमा पनि सुरक्षाका लागि बैतडी प्रहरीले दुईसय बढी सुरक्षाकर्मी परिचालन गरेको छ । दशैं अघि नै निर्माण गरेको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

जिल्लाभरी तिहार लक्षित सुरक्षाका लागि दुई सय बढी प्रहरी खटाइएको प्रहरी निरीक्षक खत्रीले बताए । उनले भने ‘हामीले सुरक्षा योजना अनुसार नै तिहारमा पनि सुरक्षाकर्मी खटाएका छौं । चाडपर्वको समयमा हुन सक्ने सबै प्रकारका अवाञ्छित क्रियाकलाप रोक्नका लागि प्रत्येक युनिटबाट प्रहरी परिचालन गरेका छौं ।’

तिहारको समयमा हुन सक्ने जुवातास नियन्त्रणका लागि प्रहरीले सादा पोशाकमा प्रहरी खटाएको छ । कहिँकतै जुवातास खेलेको तथा खेलाइएको पाइएमा कानुन अनुसार कारवाही हुने प्रहरी निरीक्षक खत्रीले बताए । 

यस्तै जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका नागरिक सहायता कक्ष र यात्रु सहायता कक्षबाट पनि प्रहरीले सेवा दिइरहेको छ । बिशेष गरेर यात्रुहरुलाई ती कक्षहरुबाट सहयोग भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चाडपर्वको समयमा जुवातास नियन्त्रण, मेला तथा जात्रा व्यवस्थापन, बैंक तथा बित्तीय संस्थाहरुको सुरक्षा, सडक दुर्घटना न्यूनीकरणका लागि सुरक्षा योजना अनुसार काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । 

जिल्लाभरीका प्रहरी युनिटबाट सुरक्षा योजना अनुसार सुरक्षाकर्मी परिचालन गरिएका प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update