बैतडी–बैतडीको पाटन नगरपालिकाले भारतमा जाने आप्रवासी कामदारहरुको दुर्घटना बीमा गर्ने भएको छ । विगतमा बर्षहरुमा समेत नगरपालिका क्षेत्रभित्रबाट रोजगारीका लागि भारत जाने नागरिकको दुर्घटना बीमा गर्दै आएको नगरपालिकाले यो बर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको हो ।
नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै ‘भारतमा जाने कामदारको बीमा’कार्यक्रमका लागि प्रस्ताव पेश गर्न बीमा कम्पनीहरुलाई आह्वान गरेको छ । आजदेखि १५ दिनभित्र सो कार्यक्रम कार्यान्वयनका लागि बीमा कम्पनीहरुलाई प्रस्ताव पेश गर्न आग्रह गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले बताए ।
नगरपालिकाले चालु आर्थिक बर्षमा भारतमा जाने कामदारहरुको निशुल्क दुर्घटना बीमा गर्ने कार्यक्रम राखेको नगर प्रमुख गौरीसिंह रावलले बताए ।
भारतमा रोजगारीका लागि जाने कामदारहरुको दुर्घटना बीमाका लागि सामाजिक संस्था रुडेसले समेत सहयोग गर्दै आएको छ । रुडेसले आप्रवासी कामदारको बीमा बाफत प्रिमियम शुल्क नगरपालिकासंग मिलेर तिर्ने गरेको रुडेसका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए ।
भारतमा रोजगारीका लागि गएका नगरबासीहरुको जोखिम न्यूनीकरणका लागि दुर्घटना बीमा गर्ने गरिएको नगर प्रमुख रावलले बताए ।





