बैतडी–बैतडीको सुर्नयामा हाइभोल्टेज करेन्ट प्रवाह हुँदा इलेक्ट्रोनिक सामग्रीहरुमा क्षति पुगेको छ । सुर्नया गाउँपालिकाको वडा नं ६ को रीगा र थाला टोलमा मंगलबार साँझ हाइभोल्टेज करेन्ट प्रवाह भएको हो ।
हाइभोल्टेज करेन्ट प्रवाह हुँदा स्थानीयहरुको घरमा लगाएको टिभी, चार्जमा लगाएका मोबाइल, कम्प्युटर, बल्ब लगायतका इलेक्ट्रोनिक सामग्रीमा क्षति भएको शिक्षक समेत रहेका स्थानीय कृष्णबहादुर कुँवरले बताए ।
करीब ९० घरधुरीमा हाइभोल्टेज करेन्ट प्रवाह भएको र यसले ठूलो क्षति भएको उनले बताए । विद्युत प्राधिकरणको लापरवाहीका कारण ठूलो क्षति भएको स्थानीयहरुले आरोप लगाएका छन् ।
शाखा लाइनका दुइओटा तारहरु छोइएपछि हाइभोल्टेज करेन्ट प्रवाह भएको विद्युत प्राधिकरण प्राविधिक प्रकाश बिष्टले बताए । सो लाइन बुधबार बिहान मर्मत गरिसकिएको उनले बताए ।




