Sagun Khabar
जाजरकोट भूकम्प प्रभावितका लागि बैतडीमा राहत संकलन शुरु 

बैतडी –जाजरकोट भूकम्प प्रभावितहरुका लागि बैतडीमा पनि राहत रकम संकलन अभियान शुरु भएको छ । विभिन्न गैरसरकारी संस्थाहरुको पहलमा राहत रकम संकलन अभियान शुरु भएको हो । 

स्थानीय प्रशासनको अनुमति लिएर दलित समाज विकास मञ्च, मानव अधिकार एलायन्स, महिला मानव अधिकार रक्षक सञ्जाल, दलित महिला संघ(फेडो), नगर युवा सञ्जाल र महिला शक्ति केन्द्रले संयुक्त रुपमा बुधबारदेखि राहत रकम संकलन गर्न थालेका हुन् । 

भूकम्प प्रभावितहरुलाई सहयोग पुर्याउने उद्देश्यसहित राहत रकम संकलन अभियान शुरु गरिएको मानव अधिकार एलायन्सकी केन्द्रीय सदस्य सरस्वती नेपालीले बताइन् । स्वेच्छिक रुपमा सहयोग गर्न चाहने संस्था, व्यक्ति, व्यापारी लगायतबाट राहत रकम संकलन भइरहेको हो । 

राहत रकम दिनेको नाम र रकमसहितको विवरण जिल्ला प्रशासनमा बुझाइने र प्रशासनले भूकम्प प्रभावित जिल्लाका विपद् व्यवस्थापन समितिका खातामा रकम पठाउने नेपालीले बताइन् । 

संघसंस्थाहरुको राहत रकम संकलन भइरहेको र सो रकम भूकम्प प्रभावितहरुका लागि पठाइने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । जिल्ला प्रशासन कार्यालयको अनुमतिमा राहत रकम संकलन भइरहेको उनले बताए । 

गएको शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा १५३ जनाको मृत्यु भएको थियो भने १७० जना घाइते भएका छन् । भूकम्पबाट सैयौं घर तथा संरचनाहरु क्षति पुग्दा धेरै नागरिक घरबारविहिन भएका छन् ।  
 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update