बैतडी –भारतको सहयोगमा बैतडीमा बर्थिङ सेन्टर निर्माण हुने भएको छ । बैतडी र मुस्ताङ जिल्लामा बर्थिङ सेन्टर बनाउन सम्झौता गरिएको भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
भारतीय राजदूतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बैतडीमा एउटा र मुस्ताङमा दुई वटा बर्थिङ सेन्टर बनाउने सहमति भएको हो । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले भारतले सञ्चालन गरेका साना परियोजना प्रभावकारी र चाँडो सम्पन्न भएको बताए ।
नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा उक्त सम्झौता भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले सबै प्रदेशमा बर्थिङ सेन्टर स्थापना गर्नुपर्ने बताइन् ।
भारतीय राजदूत नवीन श्रीवास्तवले बर्थिङ सेन्टर चाँडै बनाउन अर्थमन्त्रीका तर्फबाट सहयोग हुने विश्वास व्यक्त गरे ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्लेले बच्चा, आमा र परिवारका लागि बर्थिङ सेन्टर अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।




