बैतडी –बैतडीमा देउसी–भैलो राति ९ बजेसम्म मात्रै खेल्न पाइने भएको छ । तिहारको समयमा खेलिने देउसी–भैलो राति ९ बजेसम्म मात्रै खेल्न दिइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
चाडपर्वको समयमा विभिन्न खालका आपराधिक क्रियाकलाप समेत हुन सक्ने भएकाले देउसी भैलो खेल्दा संयमता अपनाएर खेल्न समेत आग्रह गरिएको छ ।
चाडपर्वको बेला कालोबजारी हुन सक्ने भएकाले यसबाट सबैले सचेत रहन प्रशासनले आग्रह गरेको छ । बजार प्रणालीलाई स्वस्थ राख्न म्याद नाघेका सामग्रीहरु विक्रि नगर्न, पटाका,भुईचम्पाजस्ता विस्फोटक वस्तुहरुको विक्रि वितरण नगर्न समेत स्थानीय प्रशासनले आग्रह गरेको छ ।
यस्तै तिहारको समयमा जुवातास खेल्ने र खेलाउने कार्य गरिएमा कानुन अनुसार कारवाही हुने स्थानीय प्रशासनले जनाएको छ । यस्तै मादक पदार्थको सेवन गरी होहल्ला गर्ने, समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने काम गरेमा कानुन अनुसार कारवाही हुने समेत प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
तिहारलाई हर्षोल्लासका साथ मनाउन समेत सबैलाई आग्रह गरिएको छ । चाडपर्वको बेला हुन सक्ने गैरकानुनी क्रियाकलाप रोक्नका लागि सुरक्षा योजना अनुसार काम समेत भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।




