Sagun Khabar
भारतको सहयोगमा भुमेश्वर मावि ठाँडमा नयाँ भवन निर्माण हुने 

बैतडी –बैतडीको पाटन नगरपालिका ४ ठाँडस्थित भुमेश्वर मावि ठाँडमा नयाँ भवन निर्माण हुने भएको छ । भारत सरकारको सहयोगमा विद्यालयमा दुई ओटा भवन निर्माण हुने पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए । 

भवन निर्माणका लागि भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र पाटन नगरपालिकाबीच सम्झौता भएको छ । नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा उक्त सम्झौता भएको हो ।

१५ महिनाभित्र दुईओटा भवन निर्माण गरिसक्ने लक्ष्यसहित सम्झौता भएको उनले बताए । 

४ करोड २६ लाख ४७ हजार ३३२ रुपैयाँको लागतमा भवन निर्माण गरिने बताइएको छ । यसमा २० प्रतिशत नगरपालिकाको लगानी रहने नगर प्रमुख रावलले बताए । 

२००८ सालमा स्थापना भएको भुमेश्वर माविमा दुईओटा भवन निर्माण हुने भएपछि पठनपाठनका लागि सहज हुने स्थानीय मनोज भट्टले बताए । अहिले सो विद्यालयमा कक्षा १२ सम्मको पढाई भइरहेको छ । 

भवन निर्माणका लागि भारतीय राजदूतावास र नेपाल सरकारसंग सम्झौता भइसकेकाले भवन निर्माण कार्य अघि बढ्न ढिलाई नहुने नगर प्रमुख रावलले बताए । सम्झौतापछि अब नगरपालिकामार्फत ठेक्का आह्वान भएर निर्माणको काम अघि बढ्ने उनले बताए । 

विद्यालयमा नयाँ भवन निर्माणका लागि सम्झौता भएपछि आफूहरु निकै खुसी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गम्भीर चन्दले बताए । विद्यालयमा भवनको अभाव भइरहेका बेला भवन निर्माणका लागि सम्झौता हुँदा आफूहरु खुसी भएको उनले बताए । 

Agreement1699519282.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update