Sagun Khabar
बर्खायाममा सुदूरका सडकमा ३० करोडको क्षति 

बैतडी –गएको बर्खायाममा सुदूरपश्चिमका सडकहरुमा झण्डै ३० करोडको क्षति भएको छ । प्रदेशका ९ ओटै जिल्लामध्ये कैलाली, दार्चुला र बझाङका सडकहरुमा बढी क्षति भएको सडक डिभिजन कार्यालयहरुले जनाएका छन् । 

कैलाली र कञ्चनपुरका मुख्य राजमार्गहरु सडक डिभिजन कार्यालय महेन्द्रनगरले हेर्दैैआएको छ । सो कार्यालय मातहत रहेका सडकमा गत बर्खामा झण्डै १० करोडको क्षति भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी पियुष चटौतले जानकारी दिए । अत्तरियादेखि फल्टुडे सम्मको सडकमा बढी क्षति भएको उनले बताए । 

सडक मर्मतका लागि अध्ययन भइरहेको उनले बताए । बिग्रेका सडकहरुको मर्मतका लागि पहल भइरहेको बताइएको छ । 

यस्तै दार्चुला र बझाङका सडकमा गत बर्खामा १२ करोडको क्षति भएको सडक डिभिजन कार्यालय पाटन बैतडीका इन्जिनियर राहुलराज पाण्डेयले जानकारी दिए । बैतडी, दार्चुला र बझाङका मुख्य सडकहरु सडक डिभिजन कार्यालय पाटन बैतडीले हेदै आएको छ । क्षति पुगेका सडकहरुमा पुनर्निर्माणका लागि पहल भइरहेको उनले बताए । 


यस्तै सडक डिभिजन कार्यालय कुलपाते डोटी मातहतका सडकमा ७ करोड ७१ लाख बराबरको क्षति भएको भएको छ । महाकाली राजमार्ग अन्तर्गत फल्टुडेदेखि स्याउले सम्मको सडकमा २ करोड ३३ लाखको क्षति भएको छ भने अनारखोली क्षेत्रमा ५ करोड ३३ लाखको क्षति भएको सूचना अधिकारी रामचन्द्र जैशीले जानकारी दिए । उनका अनुसार सडक मर्मतकालागि सम्झौताको प्रक्रिया अगाडि बढाईएको छ । 

बाजुरा र अछामका सडकमा बर्खा त्यति ठूलो क्षति नभएको सडक डिभिजन कार्यालय अछामका इन्जिनियर अरभिन्द्र कुमार गुप्ताले बताए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update