बैतडी–बैतडीको पाटन नगरपालिका वडा नं ८ को कार्यालयले वडाको जानकारी समेटिएको ‘पाश्र्व चित्र’ सार्वजनिक गरेको छ ।
शुक्रबार वडा कार्यालयले आयोजना गरेको बार्षिक समीक्षा कार्यक्रममा ‘पाश्र्व चित्र’सार्वजनिक गरेको हो । पाश्र्व चित्रमा वडाको भौगोलिक अवस्था, जनसंख्या, विद्यालय,स्वास्थ्य संस्था, शिक्षण संस्था, सहकारी संस्था, टोल विकास संस्था लगायतको तथ्यांक समेटिएको छ ।
यस्तै वडाभित्रको हावापानी,खेतीपाती, बजार लगायत अन्य जानकारी समेत ‘पाश्र्व चित्र’मा समेटिएको वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए ।
गत आर्थिक बर्षमा वडाभित्र सञ्चालन भएका कार्यक्रमहरुको बारेमा जानकारी दिन आयोजना गरिएको गोष्ठीमा पाश्र्वचित्र सार्वजनिक गरिएको हो ।समीक्षा गोष्ठीमा गत आर्थिक बर्षमा वडाभित्र सञ्चालन भएका योजना र कार्यक्रमहरुको बारेमा छलफल भएको थियो ।
वडा अध्यक्ष हरिश बिष्टको अध्यक्षतामा भएको बार्षिक समीक्षा गोष्ठीमा नगर प्रमुख गौरीसिंह रावल प्रमुख अतिथी रहेका थिए । समीक्षा गोष्ठीमा जनप्रतिनिधि, कर्मचारी, टोलबिकासका सस्थाका पदाधिकारी, महिला संजाल, युवा संजाल, राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीहरूले वडाभित्र सन्चालन हुने कार्यक्रम तथा योजनाहरूको काम दिगो र पारदर्शी हुनुपर्नेमा जोड दिएका थिए । यसका साथै वडाभित्र सञ्चालन हुने सबै कार्यक्रम र योजनामा जनप्रतिनिधिहरु जवाफदेही बन्नुपर्र्नेे युवा संजालकी अध्यक्ष निर्मला बिष्टले बताइन् ।
समीक्षा गोष्ठीमा वडा कार्यालयले गत आर्थिक बर्षमा ४ लाख ५० हजार ९४३ रुपैयाँ राजस्व संकलन गरेको बताउँदै वडा अध्यक्ष बिष्टले सुशासनका लागि आफू सधैं प्रतिबद्ध रहेको बताए ।
यस्तै नगरपालिकाको कार्यविधि अनुसार वडाभित्र ११ ओटा टोल विकास संस्था गठन गरेर सूचीकृत समेत गरिएको उनले बताए । विकास निर्माणका कामहरु अब टोल विकास संस्थाहरुमार्फत गर्न सहज हुने वडा अध्यक्ष बिष्टले बताए ।




