बैतडी –विभिन्न निर्णय पारित गर्दै नेकपा एमाले बैतडीको बैठक शुक्रबार सम्पन्न भएको छ । पार्टी अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा बसेको बैठकले मंसिर १४ गते शुरुवात गर्ने झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको तयारीका लागि विभिन्न निर्णयहरु पारित गरेको छ ।
संकल्प यात्राको तयारीका लागि जिल्लामा विभिन्न १५ ओटा उपसमितिहरु गठन गर्ने निर्णय भएको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए । अभियानलाई सफल बनाउनका लागि पार्टीका तर्फबाट सबै तयारी गर्ने निर्णय भएको उनले बताए ।
बैठकले लिलाधर भट्टको संयोजकत्वमा जनपरिचालन समिति गठन गरेको छ भने निरु पालको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरेको छ ।
यस्तै पुष्करराज जोशीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, दामोदर भण्डारीको संयोजकत्वमा आवास व्यवस्थापन समिति, राजेन्द्रसिंह रावलको संयोजकत्वमा खाद्यान्न व्यवस्थापन समिति र सम्मान तथा समसामयिक प्रतिवेदन तयारी समिति, चक्रबहादुर कार्कीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, जानकी अवस्थीको संयोजकत्वमा अतिथी सत्कार लगायतका समितिहरु गठन भएका छन् ।
गठन भएका समितिहरुले अभियानलाई सफल पार्नका लागि काम गर्ने उपसचिव भण्डारीले बताए ।
यस्तै अभियानकै तयारी स्वरुप आगामी मंसिर १ गते १० ओटै पालिकामा पालिकास्तरीय बैठक सम्पन्न गर्ने र मंसिर ४ गते जनवर्गीय संगठनहरुको बैठक जिल्ला सदरमुकाममा सम्पन्न गर्ने निर्णय भएको छ ।
एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा शुरुवात गर्ने भएको छ । त्यसका लागि मंसिर १३ गते साँझ एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु बैतडी पुग्ने कार्यक्रम रहेको छ ।
झुलाघाटमा मंसिर १४ गते बिहान ८ बजे यात्राको शुभारम्भ गरेपछि गोठलापानीमा आमसभाको आयोजना गर्ने तय भएको उपसचिव भण्डारीले बताए ।




