बैतडी –सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले आवश्यक ऐन, कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रदेशका ९ ओटै जिल्ला समन्वय समितिका पदाधिकारीहरुका लागि महेन्द्रनगरमा आयोजना गरिएको नेतृत्व विकास तालिम समापन समारोहमा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन् ।
आफ्नो मन्त्रालय अहिले आवश्यक कानुन निर्माणको काममा रहेको बताउँदै मन्त्री भट्टले ऐन,कानुनको अभावमा भइरहेका समस्या समाधानका लागि प्रदेश सरकार लागिपरेको बताए ।
संघीय सरकारबाटै अधिकार प्रत्यायोजनमा ढिलाई रहेको भन्दै मन्त्री भट्टले प्रदेश सरकारलाई कामकाजमा समस्या भइरहेको बताए । कतिपय ऐन र कानुनहरु संघीय ऐन र कानुन नबन्दा कार्यान्वयनमा नआएको उनले बताए । संघीय निजामति ऐन नआउँदा कर्मचारी परिचालनमै समस्या आइरहेको भन्दै मन्त्री भट्टले तिन तहका सरकार भएपनि अधिकार प्रत्यायोजनमा ढिलाई भइरहेको उनले बताए ।
जिल्ला समन्वय समितिका प्रमुखहरुले कानुनको अभावमा समन्वय समितिहरुले काम गर्न समस्या भइरहेको भन्दै कानुन निर्माणका लागि मन्त्री भट्टको ध्यानाकर्षण गराएका थिए । आफूहरुको स्पष्ट भूमिका हुनुपर्ने भन्दै समन्वय समितिहरुका तर्फबाट कार्यविधि समेत प्रदान गरिएको बताइएको छ ।




